कविशिरोमणि लेखनाथ पौड्यालको १३८ औँ जन्मजयन्ती 2022-01-03 प्रज्ञा गतिविधि
२०७८ पुस १६ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा कविशिरोमणि लेखनाथ पौड्यालको १३८ औँ जन्मजयन्ती प्रज्ञा भवन परिसरमा अवस्थित कविशिरोमणि लेखनाथ पौड्यालको प्रतिमामा माल्यार्पण गरी मनाइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार (के.के.) कर्माचार्य, नेपाल प्रज्ञा–प्रतिष्ठानका उपक्ुलपति डा. जगमान गुरुङ, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव श्याम तमोट, नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य÷काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले कविशिरोमणि पौड्यालको प्रतिमामा माल्यर्पण तथा पुष्पगुच्छा अर्पण गरी श्रद्धा प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली कविताको श्रीवृद्धिमा कविशिरोमणि लेखनाथ पौड्यालको महत्वपूर्ण र विशिष्ट योगदान रहेको बताउनुभयो । उहाँले कविशिरोमणि प्रकृति र मानवतावादी कवि भएको विचार व्यक्त गर्नुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार (के.के.) कर्माचार्यले नेपाली कविता फाँटमा विशिष्ट योगदान दिनुहुने कविशिरोमणिको योगदान शदियौँ चिरस्मरणीय रहिरहने विचार व्यक्त गर्नुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले कविशिरोमणि पौड्यालको योगदानलाई जीवन्त राख्नका लागि परिवारजन तथा अन्यत्रबाट पनि आवश्यक कार्य भइरहेको बताउनुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका साहित्य (पद्य÷काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले कविशिरोमणि लेखनाथ पौड्यालको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुभएको थियो । सो क्रममा उहाँले कविशिरोमणि पौड्लयालका कवितामा आध्यात्मिक मानवतावाद पाइने धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कवि लक्ष्मी गौतमले कविशिरोमणिद्वारा रचित ‘तरुण तपसी’ र कवि रञ्जना आत्रेयले ‘चरीको विलाप’ शीर्षकका कविता वाचन गर्नुभएको थियो ।
वि.सं. १९४१ पुस १५ गते कास्की जिल्लाको अर्घौंअर्चलेमा पौष शुक्ल एकादशीका दिन जन्मिएका पौड्यालको निधन २०२२ साल फागुन ७ गते ८१ वर्षको उमेरमा चितवनको देवघाटमा भएको थियो । उनका ऋतुविचार (खण्डकाव्य), वुद्धिविनोद (कविताकृति), सत्यकलि संवाद (कविताकृति), सत्यस्मृति, मेरो राम, त्याग र उदयको सन्देश, गीताञ्जली (कविताकृति), तरुण तपसी (नव्यकाव्य), लक्ष्मीपूजा (नाटक), गौरीगौरव (नाटक), लालित्य (कविता कृति दुई भागसम्म) आदि प्रकाशित छन् ।