‘नेपालको पुरातात्त्विक अन्वेषणमा प्रा.डा.रामनिवास पाण्डेयको योगदान’ 2021-12-15 प्रज्ञा गतिविधि
१४ मंसिर २०७८ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा वरिष्ठ संस्कृति तथा पुरातत्त्वविद् प्रा.डा.रामनिवास पाण्डेयको १८ औँ स्मृति दिवसका सन्दर्भमा मङ्गलवार आयोजित ‘नेपालको पुरातात्त्विक अन्वेषणमा प्रा.डा.रामनिवास पाण्डेयको योगदान’ विषयक विचार–गोष्ठी आयोजना गरियो । सामाजिक शास्त्र विभागका प्रमुख प्रा.दिनेशराज पन्तको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रा.डा. प्रेमकुमार खत्रीले संस्कृति तथा पुरातत्त्वविद् पाण्डेयको व्यक्तित्व र कृतित्वका विविध आयाम र योगदानमाथि प्रकाश पार्दै गोष्ठी–पत्र प्रस्तुत गर्नुभयो ।
प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रा.डा. रामनिवास पाण्डेयको योगदानको चर्चा गर्दै प्रज्ञाले गोष्ठीको आयोजना गरेर उहाँको सम्मान गरेको बताउनुभयो । प्राज्ञ सभा सदस्य प्रा.डा. गोपालप्रसाद पोखरेल ’विवश’, पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले प्रा.डा. रामनिवास पाण्डेयका व्यक्तित्वका विषयमा पूरक चर्चा गर्नुभयो ।
सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्यायले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै रामनिवास पाण्डेयको कृतित्व र प्रज्ञा–प्रतिष्ठानसँगको संलग्नताका सम्बन्धमा चर्चासहित स्वागत मन्तव्य प्रकट गर्नुभयो ।

सभाध्यक्षका रूपमा प्रा.दिनेशराज पन्तले धन्यवाद ज्ञापनसहित रामनिवास पाण्डेयले इतिहास, पुरातत्त्व र संस्कृतिका क्षेत्रमा पुर्याएको योगदानका विषयमा थप प्रकाश पार्नुभयो । पत्रकार लक्ष्मीप्रसाद उपाध्याय प्रतिवेदक रहनुभएको र प्राज्ञ सभा सदस्य शशी लुमुम्बूद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा पूर्व शिक्षा तथा संस्कृति मन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य श्री मोदनाथ प्रश्रित, त्रि.वि.संस्कृति केन्द्रीय विभागका प्रमुख प्रा.डा.मदन रिमाल, रेडियो नेपालका पूर्व अध्यक्ष तपानाथ शुक्ला, प्रा.डा. रुद्र पौडेल, प्रा.डा. षडानन्द पौडेल, स्वतन्त्र अध्येता विक्रममणि त्रिपाठीलगायतको उपस्थिति रह्यो ।



वि.सं.१९९५ पुस २८ गते कपिलवस्तुको गौरामा आमा जीवधरी पाण्डेय र बुबा काशीनाथ पाण्डेयका सन्तानका रूपमा जन्मनुभएका रामनिवासले इतिहासमा स्नातकोत्तर र पुरातत्त्व विषयमा विद्यावारिधिसम्मको औपचारिक शिक्षा आर्जन गर्नुभएको थियो । २०४६ साल वैशाखदेखि २०४७ वैशाखसम्म नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य, २०५१ देखि २०५६ सालसम्म प्राज्ञ सभा सदस्य र २०५२ सालदेखि आजीवन सदस्य रहनुभएका पाण्डेयले त्रिभुवन विश्वविद्यालय, संस्कृति,
इतिहास तथा पुरातत्त्व केन्द्रीय विभागको प्रमुख एवम् नेपाल तथा एसियाली अध्ययन केन्द्रको कार्यकारी निर्देशकका रूपमा कार्य गर्नुभएको थियो । संस्कृति, पुरातत्त्व र इतिहासका प्रामाणिक विद्वान् पाण्डेयका (१) अ ब्रिफ सर्भे अफ नेप्लिज आर्ट फर्म्स (सन् १९६७), (२) कपिलवस्तुः हिजो र आज (सन् १९९३), (३) इफेक्ट्स् अफटुरिज्म अन कल्चर एन्ड इन्भाइरन्मेन्ट इन नेपाल (सन् १९९४), (४) मेकिङ अफ मोडर्न नेपाल (सन् १९९७), (५) नेपालको पौराणिक इतिहास (सन् १९९७), (६) सेक्रेड कम्प्लेक्स अफ रुरु क्षेत्रः अ होली साइट अफ हिन्दु पिलिग्रिमेज इन वेस्टर्न नेपाल (सन् २०००), (७) द मठज् अफ दशनामी सन्न्यासी अफ ललितपुर–काठमाडौँ भ्याली (वि.सं.२०५९) लगायतका अनुसन्धानात्मक ग्रन्थहरूका साथै नेपालको पुरातात्त्विक सम्पदाका विषयमा दर्जनौँ लेखहरू राष्ट्रिय÷अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् ।
