संस्कृति मन्त्री आलेसमक्ष नेपाल प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुत

संस्कृति मन्त्री आलेसमक्ष नेपाल प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुत 2021-11-08     प्रज्ञा गतिविधि

२०७८ कात्तिक २ गते । माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका संरक्षक प्रेमबहादुर आलेसमक्ष नेपाल प्रज्ञा–प्रतिष्ठानको आ.व. २०७६/०७७ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ । संस्कृति मन्त्रालयमा माननीय मन्त्री आलेसमक्ष नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानको आ.व. २०७६/०७७ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा प्रतिवेदन बुझ्दै मन्त्री आलेले आफू नेपाल प्रज्ञा–प्रतिष्ठानका समग्र गतिविधिबारे जानकार रहेको बताउनुहुँदै देशको भाषा, साहित्य तथा संस्कृतिको समृद्धिका लागि महत्वपूर्ण काम गरिरहेकामा प्रज्ञा–प्रतिष्ठानलाई धन्यवाद व्यक्त गर्नुका साथै प्रज्ञा–प्रतिष्ठानप्रति आफ्नो पूर्ण सहयोग रहने वचन दिनुभएको थियो ।

कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिवेदन प्रस्तुत गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानले आ.व. २०७६/७७ मा ८३ ओटा अध्ययन–अनुसन्धान, अनुवाद र ग्रन्थ लेखनको काम सम्पन्न गरेको र ५० ओटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी, सम्मेलन, कार्यशाला र प्रवचनका काम भएका बताउनुभयो । यसैगरी उहाँले ८१ ओटा ग्रन्थ, विज्ञसमीक्षित शोधपत्रिका प्रज्ञा, पिअर रिभ्यु जर्नल अफ नेप्लिज स्टडिज, समकालीन साहित्य, बालप्रज्ञालगायत र १२ ओटा नियमित पत्रिकाका २१ अङ्क प्रकाशन गरेको बताउनुभयो ।

सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले नेपाली बृहत् शब्दकोशको मोबाइल एप निर्माण गरिएको र सो शब्दकोशलगायत मातृभाषाहरूका शब्दकोशको एकीकृत डाटाबेस पनि निर्माण भएको जानकारी गराउनुभयो । उहाँले कोभिड–१९ महामारीका कारण सिर्जित बन्दाबन्दीजस्ता प्रतिकूल अवस्थामा पनि नेपाल प्रज्ञा–प्रतिष्ठानले शतप्रतिशत उपलब्धि हासिल गरेको बताउनुभयो । सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य प्रा.डा. हेमनाथ पौडेल उपस्थित हुनुहन्थ्यो ।

नवनियुक्त संस्कृति मन्त्री आलेलाई कुलपति उप्रेती, सदस्य सचिव प्रा. उपाध्याय र प्राज्ञ परिषद् प्रा.डा. पौडेलले कार्यकाल पूर्ण सफलताको कामनासहित

बधाई

अर्पण गर्नुभएको थियो ।