प्रज्ञा–प्रतिष्ठानमा इजरायलका महामहिम राजदुत गोडेर 2022-04-29 प्रज्ञा गतिविधि
२०७९ वैशाख १६ गते, बिहीबार । नेपालका लागि इजरायलका महामहिम राजदुत खनान गोडेर र नेपालप्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेती, माननीय उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय तथा प्राज्ञ परिषद्का सदस्यहरूबिच शिष्टाचार भेटघाट र छलफल भएको छ । उक्त अवसरमा प्राज्ञ परिषद्का सदस्यहरू प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. उषा ठाकुर, माया ठकुरी, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली, डा देवी नेपालका साथै प्राज्ञ सभा सदस्य एवम् सञ्चार तथा डायास्पोरा संयोजक शशी लुमुम्बूको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा माननीय कुलपति उप्रेतीले नेपाल प्रज्ञा–प्रतिष्ठानको सङ्क्षिप्त परिचय दिँदै विभिन्न राष्ट्रका समान प्रकृतिका प्राज्ञिक संस्थाहरूसँग समन्वय गर्दै प्राज्ञिक आदानप्रदान गर्दै आएको जानकारी दिनुभयो । उहाँले इजरायलको हिबु्र राइटर्स एसोसिएसन र नेपाल प्रज्ञा–प्रतिष्ठानबिच सन् २०२० को जनवरीमा समझदारी पत्रमा हस्ताक्षर भई सहकार्य प्रारम्भ भएको रबी.पी. कोइरालाको ‘हिटलर र यहुदी’ पुस्तकलाई हिब्रु राइटर्स एसोसिएसनले हिब्रु भाषामा प्रकाशन गर्ने योजना अनुरूप अहिले नेपालीभाषाको उक्त पुस्तकलाई अङ्ग्रेजी भाषामा अनुवाद गरेर उपलब्ध गराउन लागिएको उहाँले जानकारी दिनुभयो ।
सो अवसरमा बोल्दै राजदुत गोडेरले नेपाल र इजरायलबिच दौत्य सम्बन्ध स्थापना भएको ६२ वर्ष पूरा हुनलागेकोमा खुसीव्यक्त गर्दै प्राज्ञिक आदानप्रदानको कामसमेत अगाडि बढ्नु सुखद् भएको बताउनुभयो । दुई ठुला छिमेकीका बिचमा रहेको नेपाल भौगोलिक हिसाबले सानो देश भए पनि भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा मौलिक र विविधतायुक्त पहिचान बोकेको भन्दै उहाँले प्रशंसा गर्नुभयो । राजदुत गोडेरले नेपाल र इजरायलबिचको सुसम्बन्धले आगामी दिनमा पनि निरन्तरता पाउने र थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । राजदुत गोडेरलाई कुलपति उप्रेतीले नेपाल प्रज्ञा–प्रतिष्ठानका तर्फबाट पस्मिनाको सल ओढाई स्वागत गर्नुका साथै प्रज्ञा–प्रतिष्ठानका महत्त्वपूर्ण प्रकाशनहरू उपहाररूस्वरूप प्रदानगर्नु भएको थियो ।