हरिभक्त त्वयनाको बिदाइ

हरिभक्त त्वयनाको बिदाइ 2021-12-30     प्रज्ञा गतिविधि

२०७८ मङ्सिर ७ गते बुधबार नेपाल प्रज्ञा–प्रतिष्ठानबाट स्वेच्छिकरूपमा अवकाश लिनुभएका पुस्तक बिक्री शाखामा कार्यरत नायब सुब्बा हरिभक्त त्वयनाको बिदाइ गरिएको छ । प्रज्ञा भवनको पारिजात प्रवचन कक्षमा आयोजित बिदाइ कार्यक्रममा माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले त्वयनालाई फूलको माला लगाइदिनुका साथै दोसल्ला ओढाएर पशुपतिनाथको प्रतिमा सम्झनाको चिनोस्वरूप प्रदान गर्नुभएको थियो । त्यस्तै सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले पेन्सनपट्टाको किताब प्रदान गर्नुभएको थियो । पेन्सनपट्टा प्रदान गर्दै उहाँले त्वयनाको काम र कर्तव्यप्रतिको निष्ठा र लगनशीलताको उच्च प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा बिदाइ मन्तव्य व्यक्त गर्दै माननीय कुलपति उप्रेतीले प्रज्ञा–प्रतिष्ठानमा कार्यरत रहँदा त्वयनाले निर्वाह गर्नुभएको कार्यकुशलता, कर्तव्य र जिम्मेवारीपूर्ण व्यवहारको प्रशंसा गर्नुभएको थियो । उहाँले ऐच्छिकरूपमा अवकाश लिनुभएका त्वयनाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।

२०४५ साल असार ७ गतेबाट सेवा प्रवेश गर्नुभएका त्वयनाले २०७८ पुस १ गतेदेखि लागु हुने गरी ऐच्छिक अवकाश लिनुभएको हो । कार्यक्रममा प्राज्ञ परिषद् सदस्यहरू, प्रशासन प्रमुख, विभिन्न महाशाखाका प्रमुख, उपप्रमुख, शाखा प्रमुख एवम् समस्त कर्मचारी परिवारको उपस्थिति रहेको थियो । कार्यक्रम बद्रीप्रसाद कार्कीले सञ्चालन गर्नुभएको थियो ।