बुद्धिलालको बिदाइ

बुद्धिलालको बिदाइ 2021-12-15     प्रज्ञा गतिविधि

२०७८ मङ्सिर १४ गते मङ्गलवार नेपाल प्रज्ञा–प्रतिष्ठानबाट सेवा निवृत्त हुनुभएका कर्मचारी बुद्धिलाल नेपालीको बिदाइ गरिएको छ । प्रज्ञा भवनको पारिजात प्रवचन कक्षमा आयोजित बिदाइ कार्यक्रममा माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालीलाई फूलको माला लगाइदिनुका साथै दोसल्ला ओढाएर पशुपतिनाथको प्रतिमा सम्झनाको चिनोस्वरूप प्रदान गर्नुभएको थियो । सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले पेन्सनपट्टाको किताब प्रदान गर्नुभएको थियो । पेन्सनपट्टा प्रदान गर्दै उहाँले नेपालीको काम र कर्तव्यप्रतिको निष्ठा र लगनशीलताको उच्च प्रशंसा गर्नुभएको थियो ।  
कार्यक्रममा बिदाइ मन्तव्य व्यक्त गर्दै माननीय कुलपति उप्रेतीले प्रज्ञा–प्रतिष्ठानमा कार्यरत रहँदा नेपालीले कुशलतापूर्वक आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गरेको बताउनुभयो । कुलपति उप्रेतीले भन्नुभयो– “नेपालीले अनिवार्य अवकाश लिएर बिदा भएता पनि उहाँलाई प्रदान गरिएको रातो किताब अर्थात् पेन्सनपट्टाले उहाँलाई प्रत्येक महिनामा एक पटक प्रज्ञा–प्रतिष्ठान आउनै पर्ने बनाएको छ ।”
कार्यक्रममा प्राज्ञ परिषद् सदस्यहरू प्रा. दिनेशराज पन्त, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली र प्राज्ञ सभा सदस्य एवम् सञ्चार तथा डायास्पोरा संयोजक शशी लुमुम्बूको उपस्थिति रहेको थियो । यसरी नै कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका विभिन्न महाशाखाका प्रमुख, उपप्रमुख, शाखा प्रमुख एवम् समस्त कर्मचारी परिवारको उपस्थिति रहेको थियो । कार्यक्रम बद्री कार्कीले सञ्चालन गर्नुभएको थियो ।