प्रज्ञा–प्रतिष्ठानबाट विश्वमोहन राजभण्डारीको बिदाइ

प्रज्ञा–प्रतिष्ठानबाट विश्वमोहन राजभण्डारीको बिदाइ 2021-11-08     प्रज्ञा गतिविधि

प्रज्ञा–प्रतिष्ठानबाट विश्वमोहन राजभण्डारीको बिदाइ

२०७८ कार्तिक ११ गते, बिहीवार । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा शाखा अधिकृत पदमा कार्यरत कर्मचारी विश्वमोहन राजभण्डारीलाई एक कार्यक्रमको आयोजना बिदाइ गरिएको छ । प्रज्ञा–प्रतिष्ठानमा ४० वर्ष सेवा गर्नुभएका राजभण्डारीले उमेर हदका कारण अनिवार्य अवकाश लिनुभएका कारण उहाँको बिदाइ गरिएको हो ।

प्रज्ञा भवनको लेखनाथ प्रवचन कक्षमा आयोजित बिदाइ कार्यक्रममा माननीय कुलपति गङ्गाप्रसाद उप्रेती र माननीय उपकुलपति डा. जगमान गुरुङले राजभण्डारीलाई माला लगाई दोसल्ला ओढाएर पशुपतिनाथको प्रतिमा सम्झनाको चिनोस्वरूप उपहार प्रदान गर्नुभएको थियो ।

यसै गरी सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले पेन्सनपट्टाको किताब प्रदान गर्नुभएको थियो । पेन्सनपट्टा प्रदान गर्दै उहाँले राजभण्डारीको काम र कर्तव्यप्रतिको निष्ठा र लगनशीलताको उच्च प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा बिदाइ मन्तव्य व्यक्त गर्दै माननीय कुलपति उप्रेतीले प्रज्ञा–प्रतिष्ठानमा कार्यरत रहँदा राजभण्डारीले कुशलतापूर्वक आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गरेको बताउनुभयो । उहाँले भन्नुभयो– “आफ्नो कर्तव्य र दायित्वलाई राम्ररी बुझेर प्रज्ञा–प्रतिष्ठानको हितमा राजभण्डारीजीले काम गर्नुभएको छ । आज उहाँले यहाँबाट अनिवार्य अवकाश लिएर बिदा भएता पनि आज उहाँलाई प्रदान गरिएको रातो किताब अर्थात् पेन्सनले उहाँलाई प्रत्येक महिनामा एक पटक प्रज्ञा–प्रतिष्ठान आउनै पर्ने बनाएको छ । यसको मतलब उहाँ प्रज्ञा–प्रतिष्ठानबाट अलग हुन सक्नुहने छैन भन्ने हो ।” उहाँले भन्नुभयो– “उमेर हदका कारण अनिवार्य अवकाश लिनुभएका राजभण्डारीजीको अवकाशपछिको जीवन समाजसेवामा समर्पित होस् भन्ने शुभेच्छासहित सुस्वाथ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।”

बिदाइ हुँदाको अनुभूति व्यक्त गर्दै राजभण्डारीले अहिलेसम्मका प्राज्ञ परिषद्मध्ये वर्तमान प्राज्ञ परिषद् अब्बल रहेको बताउँदै प्राज्ञ परिषद्को कार्यकाल स्मरणयोग्य बनोस् भनी कामना गर्नुभयो । उहाँले प्रज्ञा–प्रतिषठन प्राज्ञ परिषद् तथा समस्त कर्मचारी परिवारप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्राज्ञ परिषद्हरू प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. हेमनाथ पौडेल, माया ठकुरी र प्राज्ञ सभा सदस्य तथा सञ्चार तथा डायास्पोरा संयोजक शशी लुमुम्बूको उपस्थिति रहेको थियो ।

यसरी नै कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका प्रशासन प्रमुख, विभिन्न महाशाखाका प्रमुख, उपप्रमुख, शाखा प्रमुख एवम् समस्त कर्मचारी परिवारको उपस्थिति रहेको थियो ।

कार्यक्रम प्रशासन महाशाखामा कार्यरत शाखा अधिकृत बद्री कार्कीले सञ्चालन गर्नुभएको थियो ।