प्रज्ञा–प्रतिष्ठानबाट बुद्धि तिमिल्सिनाको बिदाइ 2021-11-08 प्रज्ञा गतिविधि
२०७८ असोज १७ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ना.सु. पदमा कार्यरत बुद्धिध्वज तिमिल्सिनाको बिदाइ गरिएको छ । योजना तथा कार्यक्रम महाशाखामा कार्यरत तिमिल्सिनाले स्वेच्छिक अवकाश लिनुभएपछि आइतबार एक समारोहको आयोजना गरी उहाँको बिदाइ गरिएको हो ।
प्रज्ञा भवनको पारिजात प्रवचन कक्षमा आयोजित कार्यक्रममा माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले तिमिल्सिनालाई दोसल्ला ओढाइ पशुपतिनाथको प्रतिमा मायाको चिनोस्वरूप उपहार प्रदान गर्नुभएको थियो ।
यसै गरी सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले खादा ओढाइ उपदान वापत् रकमको चेक प्रदान गर्नुभएको थियो । उहाँले बुद्धि तिमिल्सिनाको काम र कर्तव्यप्रतिको निष्ठा र लगनशीलताको उच्च प्रशंसा गर्नुभएको थियो ।
योजना तथा महाशाखा प्रमुख लक्ष्मी गौतमले महाशाखाका तर्फबाट मायाको चिनोस्वरूप करुवा उपहार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बिदाइ मन्तव्य व्यक्त गर्दै माननीय कुलपति उप्रेतीले प्रज्ञा–प्रतिष्ठानमा कार्यरत रहँदा तिमिल्सिनाले कुशलतापूर्वक आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गरेको बताउनुभयो । उहाँले भन्नुभयो– “आफ्नो कर्तव्य र दायित्वलाई राम्ररी बुझेर प्रज्ञा–प्रतिष्ठानको हितमा बुद्धिजीले काम गर्नुभएको छ । सकारात्मक सोचका साथ काम गर्दै जाँदा एक दिन अवश्य सफलता प्राप्त गर्न सकिन्छ । प्रज्ञा–प्रतिष्ठानमा २६ वर्ष सेवा गरेपश्चात् स्वेच्छाले अवकाश लिनुभएका बुद्धिजीको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।”
बिदाइ हुँदाको अनुभूति व्यक्त गर्दै बुद्धिध्वज तिमिल्सिनाले प्रज्ञा–प्रतिष्ठानमा सेवा प्रवेश गर्दाका दिनहरू स्मरण गर्नुभयो । “२०५२ साल कार्तिक १५ गतेका दिन मैले नेपाल प्रज्ञा–प्रतिष्ठानको तत्कालीन कलाकौशल विभाग (ललितकला संस्था, नाफा)बाट नोकरी सुरु गरेको थिएँ” उहाँले भन्नुभयो– “राष्ट्रकै एक सर्वोच्च प्राज्ञिक संस्थामा प्राज्ञहरूको सानिध्यमा रही काम गरेर आज २६ वर्षपछि स्वेच्छाले नोकरीबाट अवकाश लिएको छु । यहाँ काम गर्दा मलाई आत्मसन्तुष्टि मिलेको छ । प्रज्ञा–प्रतिष्ठानको हितविपरित कोही कसैले पनि कुनै काम गर्नुहुँदैन । अहिलेसम्मका प्राज्ञ परिषद्मध्ये वर्तमान प्राज्ञ परिषद् हरेक दृष्टिकोणबाट अब्बल रहेको मैले पाएको छु । म यो परिषद्को कार्यकाल नेपाल प्रज्ञा–प्रतिष्ठानको इतिहासमा स्वर्ण अक्षरले लेखियोस् भनी कामना गर्दछु ।”
कार्यक्रममा प्राज्ञ परिषद् प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. हेमनाथ पौडेल, माया ठकुरी, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली र प्राज्ञ सभा सदस्य तथा सञ्चार तथा डायास्पोरा संयोजक शशी लुमुम्बूको उपस्थिति रहेको थियो ।
यसरी नै कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका विभिन्न महाशाखाका प्रमुख, उपप्रमुख, शाखा प्रमुख एवम् समस्त कर्मचारी परिवारको उपस्थिति रहेको थियो ।
कार्यक्रम प्रशासन महाशाखामा कार्यरत शाखा अधिकृत बद्री कार्कीले सञ्चालन गर्नुभएको थियो ।