पत्र-पत्रिका

पत्र-पत्रिका पत्र-पत्रिका

पत्र–पत्रिका

विविध वा एउटै विषयमा लेखिएका रचना वा लेखहरूको सामयिक सङ्कलन अथवा निश्चित समयमा प्रकाशित हुने सामयिक, वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक, पाक्षिक, साप्ताहिक प्रकाशन वा पुस्तिकालाई पत्रिका भनिन्छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले यस्ता पत्रिकाको प्रकाशन २०२१ सालदेखि गर्न थालेको देखिन्छ । यस संस्थाबाट त्यस वेलादेखि अहिलेसम्म विविध भाषामा विविध पत्रिका प्रकाशित भइरहेका छन् । यी पत्रिकाका माध्यमबाट नेपाल प्रज्ञा–प्रतिष्ठानले विभिन्न सर्जक र लेखकका सृजनात्मक र अध्ययन अनुसन्धानमूलक सामग्री प्रकाशित गराएर नेपाली भाषाहरू र ती भाषाको साहित्य, समाज, संस्कृति, लोकसाहित्य, धर्म, दर्शन, इतिहास आदिको संरक्षण र संवद्र्धन गर्नाका साथै अनुवादका माध्यमबाट तिनलाई अन्य देशका पाठकसमक्ष पु¥याएर विस्तार पनि गरिरहेको देखिन्छ । यसबाट नेपाल र नेपाली संस्कृतिको परिचय बाह्य संसारसमक्ष पुगेको देखिन्छ । ती पत्रिका हुन् ः कविता, प्रज्ञा, समकालीन साहित्य, आकृति, सयपत्री, आँगन, थायभू, जर्नल अफ नेप्लिज लिटिरेचर, आर्ट एन्ड कल्चर, फक्तालुङ, रूपान्तरण, महुवा र प्रज्ञा गतिविधि । यहाँ यी सबै पत्रिकाका बारेमा छुट्टाछुट्टै शीर्षकमा परिचयात्मक अध्ययन गरिएको छ ।

१. कविता नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित हुने यो पहिलो पत्रिका हो । यस पत्रिकाको प्रकाशन २०२१ सालमा भएको हो । यो कविताप्रधान वा पद्यात्मक त्रैमासिक पत्रिका हो । यसका प्रथम सम्पादक प्रसिद्ध कवि सिद्धिचरण श्रेष्ठ हुन् । यस पत्रिकाको उद्देश्य निम्नानुसार छः “वरिष्ठदेखि कनिष्ठसम्मका कविहरूलाई एउटै पत्रिकामा स्थान दिने, पुस्तापुस्ताबीच साहित्यकारहरूसँगको भेटघाट, साक्षात्कारलाई निरन्तरता दिने साथै कविताको समृद्धिका लागि विभिन्न गतिविधिहरू गर्ने” (मन्जन, २०७१, पृ.१४९) । यिनै उद्देश्य राखेर प्रकाशित हुन थालेको यो पत्रिका २०२८ सालसम्म ११ अङ्क प्रकाशित भयो । त्यसपछि २०२९ सालदेखि २०३५ सालसम्म माधुर्य नामबाट आठ अङ्क प्रकाशित भयो । वि.सं. २०३६ सालदेखि पुनः प्रवेशाङ्कका रूपमा कविता नामबाटै प्रकाशित हुन थाल्यो । त्यस वेलादेखि अहिलेसम्म यो निरन्तर प्रकाशित भइरहेको छ । यसका वेला वेलामा विशेषाङ्क पनि प्रकाशित भएका छन् । वि.सं. २०३६ सालदेखि अहिलेसम्ममा यसका १०४ अङ्क प्रकाशित भइसकेका छन् । यसरी करिब ५३ वर्षदेखि निरन्तर प्रकाशित भइरहेको यस पत्रिकाले आधुनिक नेपाली फुटकर कविताको विकासमा उल्लेख्य योगदान दिएको देखिन्छ ।

२. प्रज्ञा
यो पत्रिका २०२७ सालदेखि प्रकाशित भएको हो । नेपाल प्रज्ञा–प्रतिष्ठानको गद्यविभागबाट प्रकाशित भएको यो पत्रिका गद्यात्मक छ । यसका प्रथम सम्पादक रत्नध्वज जोशी हुन् भने प्रबन्ध सम्पादक हरिभक्त कटुवाल हुन् । आरम्भमा यो त्रैमासिक थियो भने पछि अर्धवार्षिक बनाइएको देखिन्छ । यसको प्रथम अङ्क (२०२७) मा उल्लेख भएअनुसार यसमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका गतिविधि र तिनका उपलब्धिसम्बन्धी लेख, साहित्य, सङ्गीत, कला, संस्कृति र ज्ञानविज्ञानसम्बन्धी अनुसन्धान तथा सिद्धान्तका लेख, चर्चा र निर्णय, भाषा र व्याकरण, इतिहास र अनुसन्धानसम्बन्धी विषयका चर्चा तथा त्यस विषयमा प्रज्ञा–प्रतिष्ठानबाट प्रतिपादित या स्वीकृत निर्णयसम्बन्धी लेख, शब्द परिवार, कुनै एक विषयका सम्पूर्ण शब्दका अर्थ र प्रयोगसम्बन्धी लेख, अनूदित लेख आदि प्रकाशित गरिन्छन् । पहिलो अङ्कमा यस्तो लेखिए तापनि पछि साहित्य, संस्कृति, कला, सङ्गीत, दर्शन, विज्ञान, भूगोल, इतिहास, ज्योतिष, गणित आदि विविध विषयका गम्भीर, शोधमूलक तथा विवेचनात्मक रचनाहरू प्रकाशन गरिने भनेर उल्लेख गरेको देखिन्छ । यो बहुविषयक पत्रिका हो । वेलावेलामा यसका विशेषाङ्क पनि प्रकाशित भएका छन् । यसमा सृजनात्मक रचना प्रकाशित हुँदैनन् । प्रज्ञा गतिविधि प्रकाशित हुन थालेपछि यसमा प्रज्ञा गतिविधि प्रकाशित हुन छाडेको देखिन्छ । अहिलेसम्ममा यसका ११३ अङ्क प्रकाशित भइसकेका छन् । प्रज्ञा–प्रतिष्ठानका प्रायः सबै विभागका अनुसन्धानात्मक लेख प्रकाशन गरेर यस पत्रिकाले प्रज्ञा–प्रतिष्ठानका अनुसन्धानकार्यमा महत्त्वपूर्ण योगदान दिएको देखिन्छ । हाल प्रज्ञा विज्ञसमीक्षित जर्नलका रूपमा प्रकाशित हुँदैआएको छ ।

३. समकालीन साहित्य
यो पत्रिका २०४६ सालको राजनीतिक परिवर्तनपछि प्रकाशित हुन थालेको देखिन्छ । यसको प्रथम अङ्क २०४७ साल, माघ, फागुन, चैतमा प्रकाशन भएको हो । यो गद्यप्रधान त्रैमासिक पत्रिका हो । यसका प्रथम सम्पादक कृष्णचन्द्रसिंह प्रधान हुन् । यो पत्रिका प्रकाशन गर्ने उद्देश्य यसको प्रथम अङ्कमा यसरी उल्लेख गरिएको छः “ गद्यप्रधान समकालीन साहित्यले नेपाली साहित्य र देशका अन्य भाषाका साथै अन्तर्राष्ट्रिय साहित्यका समकालीन सृजना, लेखन प्रयासहरू तथा साहित्यिक अध्ययन चिन्तनमाझ एकअर्काबाट परिचित हुने कोसिसमा समकालीन यात्रा थालेको छ,” (२०४७, पृ.अन्तिम) । यसका साथै अन्तर्राष्ट्रिय र राष्ट्रिय समकालीन साहित्यको स्वरूप देखाउने उद्देश्य पनि रहेको देखिन्छ । यस पत्रिकामा नेपाली साहित्यका कथा, नाटक, निबन्ध, व्यङ्ग्य, यात्रासंस्मरण, समीक्षा, समालोचना आदि प्रकाशित हुन्छन् । विदेशी साहित्य र देशभित्रका अन्य भाषाका साहित्यिक रचना अनुवाद गरेर प्रकाशित गरिन्छन् । वेला वेलामा यसका विशेषाङ्क पनि प्रकाशित हुने गरेका छन् । अहिलेसम्म यसका ७६ अङ्क प्रकाशित भइसकेका छन् । यसरी यसले नेपालमा प्रजातन्त्र पुनः प्राप्त भइसकेपछि देश र देशबाहिरका नेपाली र अन्य राष्ट्रिय भाषाका साहित्यिक रचना प्रकाशित गराएर नेपाली पाठकलाई समकालीन गद्य साहित्यको गति र प्रवृत्ति बोध गराई महŒवपूर्ण कार्य गरेको देखिन्छ ।

४. सयपत्री
प्रज्ञा–प्रतिष्ठानको यो प्रथम बहुभाषिक पत्रिका हो । यसको प्रथम प्रकाशन २०५२ सालमा भएको हो । त्यस वेलादेखि अहिलेसम्म यो निरन्तर प्रकाशित भइरहेको छ । यसका प्रथम प्रधान सम्पादक योगेन्द्रप्रसाद यादव हुन् भने सम्पादक गणेशबहादुर प्रसाईं हुन् । यो पत्रिका २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको नेपाल अधिराज्यको संविधान २०४७ को भावनाअनुसार बनेको नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको ऐन, २०५० अनुसार प्रकाशित भएको देखिन्छ । नेपालका विभिन्न धर्म, जातजाति, सम्प्रदाय र भाषाभाषीहरूबीच स्वस्थ र सुमधुर सामाजिक सम्बन्ध विकसित गरी सबैको भाषा, साहित्य, लिपि, कला र संस्कृतिको विकासद्वारा देशको सांस्कृतिक विविधता कायमै राखी राष्ट्रिय एकता सुदृढ गर्ने नीतिअनुसार यस संस्थाले सयपत्री पत्रिका प्रकाशन गर्न थालेको देखिन्छ । त्यसैले यसको उद्देश्य यस पत्रिकामा यसरी उल्लेख गरिएको छ ः

यस प्रज्ञा–प्रतिष्ठानले निकै अघिदेखि नै विभिन्न जातजाति, भाषा साहित्य, इतिहास, संस्कृति, धर्म, कलाकौशल, ज्ञानविज्ञान इत्यादिका क्षेत्रमा अध्ययन अनुसन्धान र प्रकाशनसमेत गराउँदै आएको तथ्य सर्वविदितै छ । यसै परिप्रेक्ष्यमा सबै राष्ट्रिय भाषाको हित, संवद्र्धन र संरक्षण हुन सकोस् भन्ने पवित्र उद्देश्यले यस सयपत्रीलाई बहुभाषिक चार महिने पत्रिकाको रूप दिएर प्रकाशन गर्ने योजना तयार गरिएको हो (२०५२, पृ.सम्पादकीय) ।

यही उद्देश्यअनुसार यसमा राष्ट्रिय भाषाहरू, साहित्य, लोकसाहित्यसम्बन्धी सृजनात्मक र अध्ययन अनुसन्धानमूलक लेख प्रकाशित गर्ने र लेखको माध्यम नेपालको जुनसुकै राष्ट्रिय भाषा हुन सक्ने तथा माध्यम भाषा नेपालीमा रूपान्तरण पनि सँगसँगै प्रकाशित गर्ने गरेको देखिन्छ । यो पत्रिका सुरुमा चार महिने भए पनि पछि अर्धवार्षिक रूपमा प्रकाशित हुन थालेको देखिन्छ । आरम्भदेखि अहिलेसम्म यस पत्रिकाका ३० अङ्क प्रकाशित भइसकेका छन् । यसरी यस पत्रिकाले नेपालका अनेक राष्ट्रिय भाषाका अनेक प्रकारका सृजना र लेख सम्बन्धित भाषा र नेपाली भाषामा रूपान्तरण गरी प्रकाशन गरेकाले यसबाट नेपालका विविध जाति, भाषा र संस्कृतिबीच सुमधुर सम्बन्ध बढ्दै गएको र नेपालको राष्ट्रिय एकता झन् सुदृढ हुँदै गएको देखिन्छ ।

५.  जर्नल अफ नेप्लिज स्टडिज
यो पत्रिकाको प्रथम प्रकाशन वि.सं.२०५२ अर्थात् सन् १९९६ मार्चमा भएको हो । यसका प्रथम प्रधान सम्पादक योगेन्द्रप्रसाद यादव हुन् । यो आरम्भमा द्विवार्षिक थियो भने पछि अर्धवार्षिक भएको देखिन्छ । वि.सं. २०५७ अर्थात् सन् २००१ मा प्रकाशित भोल्युम ४ देखि यसको नाम परिवर्तन गरेर जर्नल अफ नेप्लिज लिटिरेचर, आर्ट एन्ड कल्चर राखियो । यो यस संस्थाबाट प्रकाशित हुने अङ्ग्रेजी भाषाको शोधपत्रिका हो । यो मूलतः नेपालबारे विदेशी पाठक र अङ्ग्रेजी लेखपढ गर्न जान्ने नेपाली पाठकलाई जानकारी दिने उद्देश्यले प्रकाशित भएको बुझिन्छ । यसमा नेपालको साहित्य, भाषा, संस्कृति, कला, समाज, इतिहास आदिका बारेमा लेखिएका शोधमूलक लेख प्रकाशित हुन्छन् । अहिलेसम्म यसका नौ अङ्क प्रकाशित भइसकेका छन् । यसले अङ्ग्रेजी लेखपढ गर्न जान्ने नेपाली र विदेशी पाठकलाई नेपालका विविध पक्षका बारेमा अध्ययन अनुसन्धानमूलक जानकारी गराएर महŒवपूर्ण योगदान दिइरहेको देखिन्छ ।

६. प्रज्ञा गतिविधि
यस बुलेटिनको प्रकाशन नेपाल प्रज्ञा–प्रतिष्ठानले गरेका विभिन्न कार्यक्रम, गतिविधि, यसको इतिहास, भावी योजना आदिबारे सर्वसाधारणलाई सूचना दिने उद्देश्यले भएको देखिन्छ । यो बुलेटिन प्रकाशित हुनुभन्दा पहिले यस्तो कार्य प्रज्ञा नामक पत्रिकाले गर्दै आएको देखिन्छ । डा. ईश्वर बराल उपकुलपति भएर आएपछि २०४७ साल भदौ २१ गते बसेको प्रज्ञाको पाँचौँ बैठकले प्रज्ञा समाचार बुलेटिन प्रकाशन गर्ने निर्णय गरेको देखिन्छ । यस निर्णयअनुसार उक्त प्रज्ञा समाचार बुलेटिन प्रकाशित भएको हुन सक्छ । अहिले त्यो उपलब्ध नभएकाले यसै भन्न सकिन्न । अहिले प्रकाशित हुँदै गरेको प्रज्ञा गतिविधि त्यही प्रज्ञा समाचारको अर्को नाम हुन सक्छ । यस प्रज्ञा गतिविधिको प्रथम प्रकाशन चाहिँ २०५३ तिर भएको बुझिन्छ । यसको प्रथम सम्पादक गायत्री विष्ट हुन् । यो अहिले त्रैमासिक बुलेटिनका रूपमा सचित्र प्रकाशित भइरहेको देखिन्छ । यसले प्रज्ञा–प्रतिष्ठानका विभिन्न विभागले आयोजना गर्ने विभिन्न गोष्ठी, पुरस्कार वितरण, क्षेत्रीय साहित्यिक कार्यक्रम, अन्तरक्रिया कार्यक्रम, कविता महोत्सव, नाट्य महोत्सव आदिको सचित्र समाचार प्रकाशित गरिरहेको देखिन्छ । यो प्रकाशित हुन थालेको २० वर्ष भइसकेको छ । यसरी यस बुलेटिनले सर्वसाधारणलाई प्रज्ञा–प्रतिष्ठानका यावत् गतिविधिको जानकारी गराएर महŒवपूर्ण कार्य गरिहेको देखिन्छ ।

७. आकृति
यो नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको नेपाल ललितकला संस्था, कलाकौशल विभागले प्रकाशित गरेको ललितकला विषयक अर्धवार्षिक पत्रिका हो । यसको प्रथम प्रकाशन २०५७ सालमा भएको हो । यसका प्रथम प्रधान सम्पादक विजय थापा हुन् । यसमा ललितकलाका अध्ययन अनुसन्धानमूलक सामग्री प्रकाशित गरिन्छन् । यसमा नेपाली लोककला, कला र कलाकार, विदेशी कला र कलाकार आदिका बारेमा अध्ययन अनुसन्धानमूलक सामग्री प्रकाशित भएको देखिन्छ । वि.सं. २०५७ सालमा अङ्क १ र २, २०५८ सालमा अङ्क ३ प्रकाशित भएको देखिन्छ । २०५९ सालमा यो पत्रिका प्रकाशित भएको छैन । २०६० सालमा अङ्क ४ लैनसिंह बाङ्देल विशेषाङ्क प्रकाशित भएको छ । २०६१ सालमा अङ्क ५ प्रकाशित भएको छ । यसपछि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान बेग्लै स्वतन्त्र प्रतिष्ठानका रूपमा स्थापना भएपछि यस पत्रिकाको प्रकाशन त्यही प्रतिष्ठानबाट हुन थालेको देखिन्छ ।

८. आङन
यो पत्रिका पनि नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको नेपालका राष्ट्रिय भाषाहरू र तिनको साहित्यका साथै विभिन्न जातजातिका कला र संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै जाने नीति र योजनाअनुरूप प्रकाशित भएको देखिन्छ । यो मैथिली भाषाको पत्रिका हो । यसको प्रथम प्रकाशन २०६२ सालमा भएको हो । यो वार्षिक प्रकाशन हो । यसका प्रथम प्रधान सम्पादक रामभरोस कापडी ‘भ्रमर’ हुन् । मैथिली भाषा, कला, साहित्य, संस्कृति, इतिहास आदिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले प्रकाशित यस पत्रिकामा मैथिली साहित्यका प्रायः सबै विधा र भाषा, संस्कृति, लोकसाहित्य, समाज आदिसम्बन्धी लेख प्रकाशित हुन्छन् । त्यस्तै यसमा नेपालका अन्य भाषाका साहित्यिक रचना मैथिलीमा अनुवाद गरेर प्रकाशित गर्ने गरेको पनि देखिन्छ । अहिलेसम्ममा यसका सात अङ्क प्रकाशित भइसकेका छन् । यसरी यसले नेपालको मैथिली भाषा, साहित्य, कला, संस्कृति आदिको उत्थान र प्रवद्र्धनमा उल्लेख्य सहयोग पु¥याएको देखिन्छ ।

 ९. थाय्भू
यो नेवारी भाषाको वार्षिक पत्रिका हो । यसको प्रथम प्रकाशन २०६२ साल असारमा भएको हो । यसको प्रथम प्रधान सम्पादक प्रसिद्ध कवि दुर्गालाल श्रेष्ठ हुन् भने प्रथम कार्यकारी सम्पादक रमेशकाजी स्थापित हुन् । यो पत्रिका नेपाल प्रज्ञा–प्रतिष्ठानको मातृभाषा विभागबाट प्रकाशित हुन्छ । यो पत्रिका प्रकाशनको उद्देश्य नेवारी भाषा, साहित्य, संस्कृति, समाज आदि विविध पक्षको संरक्षण र प्रवद्र्धन गर्नु रहेको देखिन्छ । यसमा नेवारी भाषा, साहित्य, संस्कृति, इतिहाससम्बन्धी अध्ययन अनुसन्धानमूलक लेख र सृजनात्मक रचना प्रकाशित हुन्छन् । यसका साथै नेपालका अन्य भाषाको साहित्य र विदेशी भाषाको साहित्यसम्बन्धी सामग्री नेवारी भाषामा अनुवाद गरी प्रकाशन गर्ने गरेको पनि देखिन्छ । अहिलेसम्म यसका सात अङ्क प्रकाशित भइसकेका छन् । अहिलेसम्म यसका खास विषयका विशेषाङ्क प्रकाशित भएका छैनन् । यसरी यस पत्रिकाले नेवारी भाषा, साहित्य, संस्कृति आदिको संरक्षण र संवद्र्धन गर्नाका साथै नेपालका अन्य भाषा र विदेशी भाषाका उत्तम रचना नेवारीमा प्रकाशित गरी नेवारी भाषी पाठकलाई अन्य भाषाका साहित्यिक रचनाको आस्वादन गराएर महŒवपूर्ण कार्य गरेको देखिन्छ ।

१०. फक्ताङलुङ
यो पत्रिका लिम्बू भाषामा निक्लन्छ । नेपालका सबै जातजाति, भाषा, साहित्य र संस्कृतिको संवद्र्धन र उत्थानमा नेपाल प्रज्ञा–प्रतिष्ठानले अभिभावक जस्तो भई भूमिका निर्वाह गरिरहेको छ । त्यही भूमिकाको प्रतिफल हो यो पत्रिकाको प्रकाशन । लिम्बू भाषा, साहित्य र संस्कृति, कला आदिको उत्थान र विस्तार गर्ने उद्देश्यले यो प्रकाशित भएको हो । यो मातृभाषा विभागको पत्रिका हो । श्रीजङ्गा लिपिमा प्रकाशित हुने यस पत्रिकाको प्रथम प्रकाशन २०६७ सालमा भएको हो । यसका प्रथम प्रधान सम्पादक बैरागी काइँला हुन् भने कार्यकारी सम्पादक स्वप्निल स्मृति हुन् । यसमा लिम्बू भाषा, साहित्य र संस्कृतिसम्बन्धी रचनाहरू प्रकाशित हुन्छन् । यो वार्षिक प्रकाशन हो । यसमा गद्यात्मक र पद्यात्मक, सृजनात्मक, अध्ययन अनुसन्धानमूलक दुवै प्रकारका सामग्री प्रकाशित हुन्छन् । यसका नाटक र समालोचना विशेषाङ्क पनि प्रकाशित भएका छन् । अहिलेसम्ममा यसका चार अङ्क प्रकाशित भइसकेका छन् । यसले नेपालको लिम्बू भाषा, संस्कृति र साहित्यको उत्थानमा महŒवपूर्ण कार्य गरेको देखिन्छ ।

११. रूपान्तरण
यो पत्रिका आरम्भमा हिन्दी भाषामा मात्र प्रकाशित भएको थियो । यो अनुवाद पत्रिका हो । यसको प्रथम प्रकाशन २०६९ सालमा भएको हो । यो वार्षिक पत्रिका हो । यसका प्रथम प्रधान सम्पादक डा. संजीता वर्मा हुन् भने कार्यकारी सम्पादक श्वेता दीप्ति हुन् । वि.सं. २०६२÷२०६३ सालको जनआन्दोलनबाट देशमा ठुलो राजनीतिक परिवर्तन भयो । फलस्वरूप प्रज्ञा–प्रतिष्ठानको आन्तरिक स्वरूपमा पनि परिवर्तन आयो । नेपालको सांस्कृतिक, सामाजिक एवम् साहित्यिक जगत्लाई अक्षुण्ण राख्नु र विश्वसमुदाय समक्ष सम्प्रेषित गर्नु प्रज्ञा–प्रतिष्ठानको गहन दायित्व हो । यो दायित्व यसले पहिलेदेखि नै निर्वाह गरिरहेको थियो, तर अहिले त्यो झन् अपरिहार्य र अनिवार्य हुँदै गयो । यही दायित्वको परिणाम हो रूपान्तरण पत्रिका । नेपालको साहित्यलाई अनुवादका माध्यमबाट विश्वको सम्पन्न र स्थापित हिन्दी भाषीसमक्ष पु¥याउने उद्देश्यले यसको प्रकाशन आरम्भ भएको देखिन्छ, तर पछि हिन्दी भाषाका साथै अङ्ग्रेजी भाषामा पनि नेपाली साहित्यलाई अनुवाद गरेर प्रकाशित गरेको देखिन्छ । यसमा नेपालका विविध भाषाहरू जसमा पहिलेदेखि नै साहित्य लेखिँदै आएको छ, त्यस्ता भाषा नेपाली, मैथिली, नेवारी, भोजपुरी, लिम्बू, अवधी आदिका उत्कृष्ट रचनालाई हिन्दी र अङ्ग्रेजी भाषामा अनुवाद गरी प्रकाशित गरिन्छ । यसरी यस पत्रिकाले नेपालका विविध भाषामा लेखिएका साहित्यिक रचना र नेपालसम्बन्धी अन्य लेखसमेत हिन्दी र अङ्ग्रेजी भाषी पाठकसमक्ष पु¥याएको देखिन्छ । अहिलेसम्ममा यसका चार अङ्क प्रकाशित भइसकेका छन् । यस पत्रिकाले नेपालको साहित्य र संस्कृतिलाई हिन्दी र अङ्गे्रजी भाषी पाठकसमक्ष पु¥याएर महŒवपूर्ण कार्य गरेको देखिन्छ ।

१२. महुवा
यो भोजपुरी भाषाको पत्रिका हो । यो पत्रिका पनि २०६२÷२०६३ सालको राजनीतिक परिवर्तनपछि प्रकाशित भएको हो । त्यस राजनीतिक परिवर्तनपछि नेपाल प्रज्ञा–प्रतिष्ठान नेपालका सबै भाषा, साहित्य, संस्कृति, समाज आदि विषयको खोज अनुसन्धान र तिनको प्रकाशनको केन्द्र बन्दै गएको देखिन्छ । त्यसैले यस संस्थाबाट नेपालका नेपाली भाषाका साथै अन्य मैथिली, नेवारी, भोजपुरी, अवधी, लिम्बू आदि भाषा र ती भाषाको साहित्यिक सांस्कृतिक पक्षको उत्थान र विकासका लागि सम्बन्धित भाषाका पत्रिका प्रकाशित हुन थालेको देखिन्छ । यही शृङ्खलामा भोजपुरी भाषाको पत्रिका महुवाको प्रकाशन भएको हो । यसको प्रथम प्रकाशन २०७० सालमा भएको हो । यसका प्रथम प्रधान सम्पादक बैरागी काइँला हुन् भने कार्यकारी सम्पादक भउचप्रसाद यादव हुन् । यसमा भोजपुरी साहित्य, संस्कृति, समाज, इतिहास आदिसम्बन्धी लेख, रचनाका साथै नेपालका अन्य भाषाका साहित्यिक सांस्कृतिक लेख, रचना भोजपुरी भाषामा अनुवाद गरी प्रकाशित गराएको पाइन्छ । यसका अहिलेसम्ममा दुई अङ्क प्रकाशित भएका छन् । यसरी यस पत्रिकाले एकातिर भोजपुरी भाषा, साहित्य र संस्कृतिको संरक्षण र संवद्र्धन गरिरहेको छ भने अर्कातिर नेपालका अन्य भाषाका साहित्यिक सांस्कृतिक कार्यलाई भोजपुरी भाषी पाठकसमक्ष पु¥याइरहेको पनि देखिन्छ ।
१३. बालप्रज्ञा
यो बालसाहित्यसम्बन्धी अर्धवार्षिक पत्रिका हो । २०७६ सालदेखि यसको प्रकाशन आरम्भ गरिएको हो । यसमा बालबालिकाका लागि उपयोगी सामग्रीहरू समेटिने गरिन्छ ।   

पत्रपत्रिका र सम्पादक

(१) प्रज्ञा (अर्धवार्षिक, विज्ञसमीक्षित जर्नल)
प्रधान सम्पादकः प्राज्ञ प्रा.डा. गोपीन्द्र पौडेल (प्रमुख, साहित्य (समालोचना र निबन्ध विभाग)
सम्पादक मण्डलः
प्रा.डा. हेमनाथ पौडेल
प्रा.डा. रमेशप्रसाद भट्टराई
प्रा.डा. नारायणप्रसाद गौतम
कार्यकारी सम्पादकः डा. बालाकृष्ण अधिकारी

(२) समकालीन साहित्य (त्रैमासिक, गद्यप्रधान पत्रिका)
प्रधान सम्पादकः प्राज्ञ माया ठकुरी (प्रमुख, साहित्य (गद्य) विभाग)  
सम्पादक मण्डलः
गोपाल अश्क
डा.पुष्करराज भट्ट
कुमारी लामा
उमा सुवेदी
कार्यकारी सम्पादकः प्रा.डा. सुधनकुमार पौडेल

(३) कविता (चौमासिक, कविताप्रधान पत्रिका)
प्रधान सम्पादकः प्रा.डा. हेमनाथ पौडेल (प्रमुख, साहित्य (पद्य÷काव्य विभाग)
सम्पादक मण्डलः
शशी लुमुम्बू
नन्दु उप्रेती
सविता गौतम
कार्यकारी सम्पादकः रमेश शुभेच्छु

(४) सयपत्री (बहुभाषिक अर्धवार्षिक पत्रिका)
प्रधान सम्पादकः डा. जगमान गुरुङ (उपकुलपति, प्रमुख, संस्कृति विभाग)
सम्पादक मण्डलः
गणेश राई
प्रतिभा पुन
हंसावती कुर्मी
कार्यकारी सम्पादकः चतुर्भुज केवरत

(५) आङ्न (मैथिली भाषाको अर्धवार्षिक पत्रिका)
प्रधान सम्पादकः प्रा.डा. योगेन्द्रप्रसाद यादव (प्रमुख, मातृभाषा, कोश र व्याकरण विभाग)  
सम्पादक मण्डलः
देवनारायण यादव
विनीत ठाकुर
कृष्णकुमार साह
कार्यकारी सम्पादकः धर्मेन्द्र झा ‘विह्वल’

(६) थाय्भु (नेपाल भाषाको वार्षिक पत्रिका)
प्रधान सम्पादकः लक्ष्मी  माली (प्रमुख, साहित्य (मातृभाषा) विभाग)
सम्पादक मण्डलः
शशिकला मानन्धर
शरद कसाः
सुरेश किरण  
कार्यकारी सम्पादकः रमशेकाजी स्थापित

(७) रूपान्तरण (अनुवादप्रधान हिन्दी, नेपाली र अङ्ग्रेजी भाषाको अर्धवार्षिक पत्रिका)  
प्रधान सम्पादकः प्रा.डा. उषा ठाकुर (प्रमुख, साहित्य (अनुवाद) विभाग)
सम्पादक मण्डलः
डा. रामदयाल राकेश
केशव सिग्देल
मुकेश मिश्र
कार्यकारी सम्पादकः महेश पौड्याल

(८) बालप्रज्ञा (अर्धवार्षिक, बालपत्रिका)
प्रधान सम्पादकः डा. देवी नेपाल (प्रमुख, साहित्य (बालसाहित्य र लोकवार्ता) विभाग)
सम्पादक मण्डलः
डा. नवराज रिजाल
गोपीकृष्ण ढुङ्गाना
देवु लुइँटेल
कार्यकारी सम्पादकः
डा. धु्रवकुमार घिमिरे

(९) महुआ (वार्षिक, भोजपुरी भाषाको पत्रिका)
प्रधान सम्पादकः गङ्गाप्रसाद उप्रेती
सम्पादक मण्डलः
वीणा सिन्हा
गोपाल अश्क
कार्यकारी सम्पादकः भउचप्रसाद यादव


(१०)  फक्ताङलुङ (वार्षिक, लिम्बू भाषाको पत्रिका)
प्रधान सम्पादकः कुलपति गङ्गाप्रसाद उप्रेती
कार्यकारी सम्पादकः स्वप्निल स्मृति

(११) प्रज्ञा गतिविधि (त्रैमासिक, समाचारप्रधान पत्रिका)

प्रधान सम्पादकः प्रा. जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ (सदस्य सचिव एवम् प्रमुख, दर्शनशास्त्र विभाग)
कार्यकारी सम्पादकः शशी लुमुम्बू (सदस्य, प्राज्ञ सभा, संयोजक, सञ्चार तथा डायस्पोरा)
(१२) व्यगचलब िया ल्भउबभिकभ कतगमष्भक  ९एभभच चभखष्भधभम ज्बाि थभबचथि चभकभबचअज वयगचलब०ि
  ऋजष्भा भमष्तयचस् एचया। म्च। थ्यनभलमचब एचबकबम थ्बमबख

भ्मष्तयचक